काठमाडौं, पुस ९ — राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका क्रममा जेनजी प्रतिनिधि पुरूषोत्तम यादवसँग विस्तृत सोधपुछ गरेको छ। आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको सम्बन्धसहित २० भन्दा बढी प्रश्न लिखित र मौखिक रूपमा सोधेको यादवले बताएका छन्।
बुधबार आयोगको कार्यालयमा करिब तीन घन्टा बयान दिएका यादवका अनुसार आन्दोलनमा स्कुल ड्रेस लगाएका १८ वर्षमुनिका विद्यार्थीको सहभागिता, त्यसका लागि कसले उक्सायो, बालअधिकार प्रतिकूल कार्यबारे जानकारी थियो/थिएन, तथा विद्यार्थीलाई आन्दोलनमा ल्याउने योजना कसको थियो भन्ने विषयमा आयोगले चासो राखेको थियो।
त्यस्तै, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसँग जोडिएका घटनाबारे कसले के भूमिका खेलेको, प्रदर्शनीका लागि सिडिओ कार्यालयबाट अनुमति कसरी लिइयो, रक्षा बम र सुदन गुरूङसँगको चिनजान, आन्दोलनमा पानी वितरण कसले र कुन प्रयोजनका लागि गर्यो जस्ता प्रश्न पनि सोधिएको यादवले जानकारी दिए।
आयोगले जेनजी समूहलाई सडकमा उतार्न कसैले सहयोग गरेको थियो कि थिएन, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडमा समूहको भूमिका, डिस्कर्डलगायत सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म कहिलेदेखि प्रयोग गरियो, घाइतेहरूको व्यवस्थापन र घटनापछि सान्त्वना दिने प्रयास भए/नभएको विषयमा समेत प्रश्न गरेको उनले बताए।
यादव हाल रास्वपामा प्रवेश गरिसकेका छन् र पार्टीको प्रारम्भिक समानुपातिक उम्मेदवार सूचीमा समावेश छन्। आयोगले जेनजी आन्दोलनको छानबिनका क्रममा विभिन्न व्यक्तिसँग बयान लिइरहेको छ। यसअघि सोमबार मेयर बालेन शाहलाई पनि बोलाएर बयान लिइसकेको आयोगले जनाएको छ।