प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेकाे ह्विप

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेका सबै प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई विश्वास प्राप्त गर्न कठिन छैन किनकि कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मत समर्थन प्राप्त गर्न पर्याप्त छ । यद्यपि, ओलीले दुईतिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।

अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेकाले ती दलहरूबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नेछन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १÷१ जना र दुईजना स्वतन्त्र सांसद छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×