काठमाडौँ - भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले घरेलु क्रिकेटबाट खेलाडी सब्सटिच्युटको नयाँ नियम लागु गर्ने भएको छ। अर्को महिनादेखि सुरु हुने घरेलु टी-२० प्रतियोगिता सैयद मुश्ताक अली ट्रफीमा खेलाडी परिवर्तन गर्न पाउने नयाँ प्रयोग गर्न लागेको हो।
बिसीसीआई यस प्रतियोगिताको इम्प्याक्ट प्लेयर (प्रभाव खेलाडी) को नयाँ नियम लागू हुनेछ। यदि यो नियम घरेलु प्रतियोगिताहरूमा पूर्ण रूपमा सफल भयो भने, बिसीसीआईले यो नियम २०२३ को आइपिएलमा समेत लागु गर्ने भएको छ।
यो नियम अनुसार खेलको समयमा टिमको प्लेइङ ११ मा रहेका खेलाडी फुटबल खेलमा जस्तो परिवर्तन गर्न सकिनेछ।
बीसीसीआई यस नियमलाई लिएर पूर्ण रूपमा गम्भीर रहेको बताइएको छ। हालै बिसीसीआईले यस सम्बन्धमा सबै राज्य क्रिकेट बोर्डहरूलाई सर्कुलर पठाएको छ। यस सर्कुलरमा भनिएको छ, ‘जस्तो गतिले टी-२० क्रिकेट लोकप्रिय हुँदै गइरहेको छ, त्यसलाई ध्यानमा राख्दै हामीले खेलमा केही नयाँ कुराहरू ल्याउन जरुरी छ। क्रिकेटको यो ढाँचामा नयाँ कुरा आएपछि यो अझ आकर्षक हुनेछ।'
इम्प्याक्ट प्लेयरको नयाँ नियम अनुसार खेलमा थप खेलाडीको भूमिका महत्वपूर्ण हुनेछ। यससँगै खेलको समयमा पनि टोलीले आफ्नो रणनीति परिवर्तन गरी परिस्थितिअनुसार योजना बनाउन सक्नेछन्।
यी नयाँ नियम अनुसार टस हुँदा दुवै टोलीले आ-आफ्नो प्लेइङ इलेभेनका साथै ४ वैकल्पिक खेलाडीको विकल्प बताउनुपर्नेछ, जसमध्ये १ खेलाडीलाई इम्प्याक्ट प्लेयरको रूपमा प्रयोग गर्न सकिनेछ। यद्यपि यो खेलाडी परिवर्तन गर्नै पर्ने बाध्यकारी भने रहेको छैन।
अर्कोतर्फ, कुनै पनि इनिङ्सको १४औं ओभर पूरा हुनु अघि कुनै पनि समयमा इम्प्याक्ट प्लेयर प्रयोग गर्न सकिन्छ। यसबाहेक, इम्प्याक्ट प्लेयरले अवसर पाएपछि उनको ठाउमा बाहिरिने खेलाडी फेरी सो खेलमा खेल्न सक्ने छैनन्।