विशेष अधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध बनाउने बाटोमा अघि बढ्यौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नु अपरिहार्य भइसकेको बताएका छन्।

‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’को अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै थापाले बीपी कोइराला र गणेशमान सिंहलगायत नेताहरूले विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै नेपाल फर्किएको ऐतिहासिक दिन स्मरण गरेका छन्।

थापाले परिवर्तनको यात्रामा विरोध र निषेधभन्दा पनि राष्ट्र निर्माणको साझा उत्तरदायित्व बोधका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले नेपाली कांग्रेस अहिले राष्ट्रिय भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासको विन्दु खोजिरहेको र त्यो आत्मविश्वास पार्टीको एकताबाट मात्र सम्भव हुने बताए।

उनले स्पष्ट पारे, फरक विचारलाई दबाउने वा बेवास्ता गर्ने होइन, भिन्न मतहरू व्यक्त गर्न सकिने साझा मञ्चको प्रयोगबाट मात्र पार्टी एकता बलियो बन्ने उल्लेख गर्दै वर्तमान सन्दर्भमा त्यो साझा मञ्च विशेष अधिवेशन नै भएको बताए।

महामन्त्री थापाका अनुसार पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नु विधानतः बाध्यकारी हुनुका साथै पार्टीभित्रको एकता र आत्मविश्वासका लागि पनि अत्यावश्यक बनेको छ। राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्नु हरेक कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै उनले सोही उद्देश्यका लागि विशेष अधिवेशनको बाटो रोजिएको स्पष्ट पारे।

अन्त्यमा थापाले सम्पूर्ण पार्टी पंक्तिलाई दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुका साथै ‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’को शुभकामना व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×