काठमाडौँ - अमेरिकामा हुने आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अघि नेपालले दुई अभ्यास खेल खेल्ने भएको छ।
नेपालले अमेरिकाको प्राइरी भ्यू क्रिकेट कम्पलेक्समा जुन २ मा हुने पहिलो अभ्यास खेलमा अमेरिकामा रहेका नेपाली खेलाडी सम्मिलित नेपाली अल स्टार्स क्लबविरुद्ध खेल्नेछ। दोस्रो खेल जुन ४ मा हाउस्टन हरिकेन्सविरुद्ध खेल्ने छ। दुबै खेल ५० ओभरको हुनेछ।
नेपाली टोली मे २९ तारिखमा अमेरिका पुग्ने छ। लिग २ अन्तर्गत नेपालले आयोजक अमेरिका र ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज खेल्ने छ।
नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ तथा अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने छ।