काठमाडौँ - इङ्ग्लिस क्लब लिभरपुलका फर्वाड साडियो माने जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गर्न तयार भएका छन्।
माने व्यक्तिगत रुपमा बायर्न जान सहमत भए पनि लिभरपुलसँग भने कुनै पनि सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भर्खरै सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस महारथि रियाल मड्रिडसँग १–०ले पराजित भएसँगै मानेले लिभरपुल छाड्ने निर्णय गरेका हुन्। साउथ ह्याम्टनबाट सन् २०१६ मा माने ३४ मिलियन युरोमा एन्फिल्ड आएका थिए।
उनले लिभरपुलका लागि २६३ खेलमा १११ गोल गरेका छन्। भने, ३८ असिस्ट पनि गरेका छन्। मानेले सन् २०१८-१९ को प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए। उनले फिफा क्लब वर्ल्डकप, च्याम्पियन्स लिग, प्रिमियर लिग, सुपर कप, एफए कप, इएफएल कप जितेका छन्।