काठमाडौँ - कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ। दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। नेपाली समयअनुसार पौने ९ बजेबाट सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्नेछ।
फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा रहेको छ। यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो। अर्जेन्टिना सन् १९९८ र सन् १९८४ मा च्याम्पियन भएको थियो।
लियोनल मेस्सी (अर्जेन्टिना)
कतार विश्वकपमा सबैको नजर लियोनल मेस्सीमाथि छ। मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन्। ३५ वर्षीय मेस्सीले जारी विश्वकपमा ५ गोल गरेका छन्। यसैगरी ३ असिस्ट उपलब्ध गराएका छन्। मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध १/१ गोल गरेका छन्। जसमा ३ गोल पेनाल्टीमा सम्भव भएका छन्।
अग्रपंक्तिमा आवश्यकताअनुसार रहँदै मेस्सी अधिकांश समय मिडफिल्डर झरेर खेलिरहेका छन्। जसमा उनीसँगै अर्जेन्टिना सफल भएको छ। मेस्सीले अर्जेन्टिनाबाट १ सय ७१ खेलमा ९६ गोल गरेका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) मा व्यावसायिक फुटबल खेलिरहेका मेस्सी सन् २०१८ मा समेत सेमिफाइनल पुगेर उपाधिबाट विमुख भएका थिए।
केलियन एम्बाप्पे (फ्रान्स)
युवा स्ट्राइकर केलियन एम्बाप्पे जारी कतार विश्वकपमा निकै लयमा छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी खेलाडीले ५ गोल गरिसकेका छन्। उनी मेस्सीसँगै गोल्डेन बुटको दौडमा छन्। साबिक विजेता फ्रान्सका २३ वर्षीय एम्बाप्पेले डेनमार्क र पोल्यान्डविरुद्ध समान २ गोल गर्दा अस्ट्रेलियाविरुद्ध १ गोल गरेका थिए।
एम्बाप्पे बल नियन्त्रणमा राख्दै तीव्र गतिमा दौडन, फिनिसिङ गर्न र पास निकाल्नमा माहिर मानिन्छन्। सेमिफाइलनमा मोरक्कोविरुद्ध गोलविहीन भए पनि दुवै गोलमा एम्बाप्पेको योगदान रहेको थियो। सन् २०१७ देखि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेले ६६ खेलमा ३३ गोल गरेका छन्। एम्बाप्पे लगातार २ विश्वकप जित्ने संघारमा छन्। जुन यसअघि ब्राजिल र इटालीले जितेका थिए।