काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकार लिलामी भएको छ। भारतीय उपमहाद्वीपका लागि, टिभी अधिकारहरू प्रति खेल ५७.५ करोड रुपैयाँमा र डिजिटल अधिकारहरू प्रति खेल ५० करोडमा बिक्री गरिएको छ।
तिनीहरूको कुल बोली ४४,०७५ करोड रहेको छ। रिपोर्टकाअनुसार, स्टारले २३ हजार ५७५ करोड रुपैयाँमा टिभी अधिकारहरू खरिद गरेको छ। रिलायन्सको कम्पनी वायाकम 18 ले २० हजार ५ सय करोड रुपैयाँमा डिजिटल अधिकारहरू खरिद गरेको छ। बीसीसीआईले विजेताको नाम भने सार्वजनिक गरेको छैन।
पछिल्लो पटक स्टारले टिभी र डिजिटल दुवै अधिकार १६ हजार ३४८ करोडमा किनेको थियो। यस्तो अवस्थामा यसपटक टिभी र डिजिटल अधिकार अघिल्लो पटकको तुलनामा साढे दुई गुणा बढी रहेको छ। स्रोतका अनुसार अब बीसीसीआईले आईपीएलको एक खेलका लागि १०७.५ करोड रुपैयाँ पाउने भएको छ।
यसरी, एक खेलको प्रसारण अधिकारका अनुसार, आईपीएल अब विश्वको दोस्रो महँगो लिग बनेको छ। आईपीएलले ईपीएल (प्रति खेल ८६ करोड)लाई पछि पारेको छ। अहिले अमेरिकाको नेशनल फुटबल लिग (NFL) ले प्रत्येक खेलको प्रसारण अधिकार बापत १३३ करोड रुपैयाँ पाउँने गर्छ।