महोत्तरी - गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराएका छन्। सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ।
गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिए। वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिए।
“गौशाला–१२ मा सार्वजनिक हितका लागि जग्गाधनीले देखाउनुभएको चासोले वडावासी सबै उत्साहित छौँ” उनले भने, “अब कार्यालय भवन निर्माणको प्रक्रिया तत्काल थालिने छ।” यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिएकी थिइन्। सो ठाउँमा हाल सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालनमा छ।