पाँचथर। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा फिदिम नगर कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। रानीटारस्थित बराजु खेलमैदानमा आयोजित प्रतियोगिताको नेपाल अलैँची व्यवसायी महासङ्घका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरे। स्वतन्त्र क्लब रानीटारको आयोजना तथा रानीटार युनाइटेड क्लबको सहआयोजनामा आयोजित प्रतियोगिताको प्रवद्र्धकमा फिदिम नगरपालिका रहेको छ। भारतको एकसहित नौ फुटबल टोलीले सहभागिता जनाएको प्रतियोगिता आगामी पुस ३ गतेसम्म चल्नेछ। आज भएको उद्घाटन खेलमा अल इन वान सैनिक क्लब झापाले शानदार विजय सुरुआत गरेको छ। आयोजक स्वतन्त्र क्लबलाई ७–३ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको हो। झापाका लागि पुजन राईले ह्याट्रिक गरे। झापाका लागि दिपेश श्रेष्ठ र आशिष गुरुङले २–२ गोल गरेका थिए। आयोजक टिमका लागि अर्जुन गुरुङले दुई तथा किस्मत लिम्बूले एक गोल गरेका थिए। ह्याट्रिक गर्ने राई उद्घाटन खेलको म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत भोलि दुई वटा खेल हुने आयोजकले जनाएको छ। भोलि पहिलो खेल दिउँसो १२ः३० बजे योङ ब्वाइज क्लब इलाम र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ३ बजे पशुपति–११ क्लब इलाम र चर्च ब्वाइज क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्। प्रतियोगिताका विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु ८० हजार पुरस्कार प्राप्त गर्नेछन्।