काठमाडौँ - नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा पाहुना टोली वेष्ट इण्डिज ७ विकेटले विजयी भएको छ। यो जितसँगै तीन खेलको श्रृंखलामा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ।
गएराति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सले दिएको २४१ रनको लक्ष्य वेष्ट इण्डिजले ४३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। वेष्ट इण्डिज लागि ओपनर शाई होपले शतकीय पारी खेले। उनले १३० बलमा १२ चौका र दुई छक्कासहित अविजित ११९ रन बनाएका थिए।
एकदिवसीयमा होपको यो ११ औं शतक हो। त्यस्तै, शाम्रराह ब्रुक्सले ६०, ब्रेण्डन किंगले अविजित ५८ र कप्तान निकोलस पूरनले सात रनको योगदान दिए।
नेदरल्याण्ड्सका लागि लोगानभान बीकले २ र आर्यन दत्तले १ विकेट लिएका थिए। त्यसअघि एम्स्टेविनस्थित वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको नेदरल्याण्ड्सले वर्षाका कारण ४५ ओभरमा झारिएको खेलमा ७ विकेट गुमाएर २४० रन बनाएको थियो।
उसका लागि तेजा निदामनुरुले अविजित ५८, विक्रमसिजत सिंहले ४७, म्याक्स ओदाउदले ३९, बासडी लीडेले १७, कप्तान पिटर सीलारले १४, स्कट इड्रवास, मुसा अहमदले १३/१३ र लोगानभान विकले ११ रन बनाएका थिए।
वेष्ट इण्डिजका लागि अकिल होसेन, कायल मेयर्सले २/२, आदर्शन फिलिप, हेडन वाल्स र अल्जारी जोसेफले १/१ विकेट लिएका थिए। वेष्ट इण्डिज र नेदरल्याण्ड्सबीचको दोस्रो खेल बिहीबार हुनेछ।