काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने शीर्ष १० भित्र परेका छन्।
केन्या भ्रमणमा ५ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १२ विकेट लिएपछि सन्दीपको विकेट संख्या ८५ पुगेको छ। सन् २०१८ मा आईसीसी वर्ल्ड ११ बाट खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सन्दीपले ४४ खेल खेल्दै ८५ विकेट लिएका हुन्।
सन्दीपले १६६.५ ओभर बलिङ गर्दा ३ मेडन राखेका छन् भने १ हजार ६८ रन खर्चेका छन्। उनको इकोनोमी ६.४० र औषत १२.५६ रहेको छ। सन्दीपले १ पटक एकै खेलमा ५ विकेट र २ पटक एकै खेलमा ४ विकेट लिएका छन्।
केन्या विरुद्धको चौथो खेलमा सन्दीपले टी-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ प्रदर्शन (५/९) गरेका थिए। उनले केन्यामा ५ मध्ये ४ खेलमा विकेट लिँदा १ खेलमा विकेटविहीन बने। सन्दीप केन्यामा सम्पन्न टी-२० शृंखलाको म्यान अफ दि सिरिज समेत बनेका छन्।
पाकिस्तानका २ पूर्व बलर उमर गुल र साइद अजमलले पनि ८५ विकेट नै लिएका छन्। तर उनीहरु सन्दीप भन्दा पछि छन्। टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी बंगलादेशका कप्तान शकिब अल हसन हुन् भने अहिलेसम्म जम्मा ४ खेलाडीले १ सय भन्दा बढी विकेट लिएका छन्।
शकिबले युएईमा भइरहेको एसिया कपमा मंगलबार राती अफगानिस्तान विरुद्ध खेल्दै १ सय खेल समेत पूरा गरेका छन्। उनले १२२ विकेट लिइसकेका छन्।
बंगलादेश विरुद्ध ३ विकेट लिएपछि अफगानिस्तानका रासिद खान ११५ विकेटसहित दोस्रो स्थानमा उक्लेका छन्। न्युजिल्याण्डका टिम साउदीले ११४ र श्रीलंकाका लासिथ मालिंगाले १०७ विकेट लिएका छन्।
न्युजल्याण्डका इश सोधीले ९९, पाकिस्तानका पूर्व खेलाडी शाहिद अफ्रिदीले ९८, बंगलादेशका मुस्ताफिजुर रहमानले ९१ र इंग्ल्याण्डका क्रिस जोर्डनले ९० विकेट लिएका छन्।
सन्दीप भन्दा अघि रहेका मालिंगा र अफ्रिदीले सन्यास लिइसकेका छन्। अहिलेसम्म रासिद खानले सबैभन्दा छिटो टी-२० मा १०० विकेट लिएका छन्। उनले ५३ खेलमा उक्त उपलब्धी हासिल गरेका थिए भने यसका लागि ६ वर्ष लागेको थियो। सन्दीपले अब ८ खेलमा १५ विकेट लिएमा टी २० अन्तर्राष्ट्रियमा छिटो १०० विकेट लिने खेलाडी बन्नेछन्।