काठमाडौँ - अर्जेन्टिनी लियोनेल स्कोलानी क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन्।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जमैकालाई ३-० ले पराजित गरेपछि अर्जेन्टिन फुटबल संघ (एएफए) ले स्कालोनीसँगको सम्झौता थप ४ वर्षको लागि नविकरण गरेको छ। अब अर्जेन्टिना थप ४ वर्ष स्कोलानीकै प्रशिक्षणमा रहनेछ।
सन् २०१८ मा रुसमा भएको विश्वकपमा प्रि-क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि जर्ज साम्पाओलीलाई प्रतिस्थापन गर्दै स्कालोनीले अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका थिए। एएफएका अध्यक्ष चिक्की टापियाले प्रशिक्षक स्कालोनीसँगको सम्झौता नविकरण पुष्टि गरेका छन्।
२ महिनाभित्रै कतारमा हुने विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने चुनौती स्कोलानीसँग छ। तर, एएफएले कतार विश्वकप अघि नै उनीमाथि विश्वास देखाउँदै सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेको छ।
जमैकामाथिको जितसँगै स्कोलानीले पनि अर्जेन्टिनाकै प्रशिक्षकको रुपमा निरन्तरता दिन इच्छा व्यक्त गरेका थिए। ‘म राष्ट्रिय टोलीमा रहिरहन चहान्छु। मेरो अध्यक्ष तापियासँग राम्रो सम्वन्ध छ। हामीले भेट्यौं। हामी लयमा छौं।’ ४४ वर्षीय स्कोलानीले भने।
लियोनेल मेस्सी, पाउलो डिबाला र लोउटारो मार्टिनेजजस्ता फरवार्डहरु पछिल्लो महिना लयमा रहँदा अर्जेन्टिनालाई कतार विश्वकपमा दावेदार टोलीको रुपमा हेरिएको छ।
२०१७-१८ मा सहायक प्रशिक्षक र २०१८ मा अन्तरिम प्रशिक्षक हुँदै अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका स्कोलानीको प्रशिक्षणमा अर्जेन्टिनाले ४९ खेल खेल्दा ३३ जित, १२ बराबरी र ४ हारको नतिजा निकालेको छ।
स्कोलानीकै प्रशिक्षणमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिका कप र फाइनालिसिमाको उपाधि जितेको थियो।