भेरी नदीमा बेलीब्रिज पुल निर्माण जारी

जाजरकोट - स्तरोन्नतिको काम भइरहेका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेका भेरी नदीमा बेलीब्रिज पुल निर्माण जारी छ। निर्माण व्यवसायीले अस्थायीरूपमा तल्लु बगरमा बेलीब्रिज निर्माण गरी छिटोछरितो बनाउने कार्यलाई तीव्रता दिएको छ। जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलीब्रिज बनाएर डोल्पा खण्डमा बेलीब्रिज निर्माणलाई तीव्रता दिइएको सडक डिभिजन चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिए।

बेलीब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधै डोल्पाको खदाङसम्म जान पाएका छन्। यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो। सवारीसाधन तल्लुबगरबाट गोतामकोटसम्म तुइनमार्फत तारेर रु एक लाख ५० हजार प्रतिपटक रकम खर्च गर्नुपर्ने बाध्यता थियो। 

अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलीब्रिज निर्माणको काम भइरहेको छ। तीनै चारवटा बेलीब्रिज निर्माणका सामग्री ढुवानीका लागि इकोइन्फ्रा बिल्डर्सले बेलीब्रिज निर्माण गरेको हो। बिल्डर्सका प्रतिनिधि मनोज लेखकले बेलीब्रिज निर्माणका सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए। उनका अनुसार अस्थायी बेलीब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पुर्याइनेछ ।

अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलीब्रिज तयार गरिएको हो। बिल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाड खोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलीब्रिज निर्माणको काम गरिरहेको छ। ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ भने सामान जडान गर्न मात्र बाँकी छ। अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलीब्रिज बन्दै छ भने रुपगाड खोला र करबगार खोलामा पनि पुल बनाइनेछ। सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले चारवटा बेलीब्रिज निर्माणको ६० प्रतिशत काम सकिएको बताए।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायत ठाउँबाट आएका सवारी तल्लुबगरमा रोकिने गरेका थिए। अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्युँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए। अस्थायी बेलीब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×