तनहुँ - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ। स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो।
जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।
कार्यालयले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि कर्मचारी र शिक्षकको विवरण माग गरेको छ। निर्वाचनमा परिचालनका लागि जिल्लास्थित कर्मचारी र शिक्षकको विवरण माग गरिएको र विवरण प्राप्त भएपछि निर्वाचन आयोगमा पठाइने उनले बताए। “आयोगबाट नामावली स्वीकृत भएर आएपछि कर्मचारी खटनपटनको काम हुन्छ”, उनले भने।
ती पालिकामा ३०० केन्द्र छन्। मतदानस्थल नथपिए पनि मतदान केन्द्र थप गर्नेबारेमा छलफल भइरहेको छ। एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ।
जिल्लामा २३ दलले भाग लिने भएका छन्। राष्ट्रिय मान्यताप्राप्त छ र अन्य क्रियाशील १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ। दल दर्ताका लागि दिइएको समयभित्र २३ दलले दर्ता गराएको निर्वाचन अधिकारी ढकालले बताए। “जिल्लामा क्रियाशील राजनीतिक दललाई निर्वाचनमा भाग लिनका लागि विवरणसहित आउन सूचना जारी गरेका थियौँ”, उनले भने, “राजनीतिक दलको विवरण आइसकेपछि कार्यालय थप काममा अगाडि बढेको छ।”