लेखक कायस्थको ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी’ सार्वजनिक

काठमाडौँ- प्रजातन्त्र दिवसका अवसरमा वरिष्ठ साहित्यकार, लेखक एवं राजनीतिज्ञ तिलकप्रकाश कायस्थको नयाँ पुस्तक विमोचन गरिएको छ। सतासी वर्षको उमेरमा पनि दैनिक १० घण्टाभन्दा बढी अध्ययन र लेखनमा सक्रिय कायस्थको झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला नामको पुस्तक आज भक्तपुरमा विमोचन गरिएको हो।

बिपी कोइरालाका विभिन्न पाटाहरु समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक कायस्थले जानकारी दिए। पुस्तकमा भारत र नेपालबीचको सम्बन्ध तथा बिपीको विषय समेटिएको छ। भारतबाट कसरी नेपाली राजनेताहरु प्रताडित हुनुपरेको छ र भारतको नेपालप्रतिको दृष्टिकोणसमेत पुस्तकमा समेटिएको छ।
 
“बिपीको विषय र नेपाल भारतको सम्बन्ध जुन आजसम्म पनि थिचोमिचोमै रहेको छ, उक्त समयमा नेपालप्रतिको भारतको दृष्टिकोण बिपीलाई भारतले किन लखेटे र हालसम्म नेपालका नेतालाई किन भारतले लखेट्छन् त भन्ने विषयमा धेरै कुरा पुस्तकमा समेट्न खोजेको छु”, उनले भने।

दरबार, भारत र नेपालमा प्रजातन्त्रका लागि लड्नेहरूबीचको सम्बन्धलगायत विषयमा पनि यस पुस्तकमा धेरै कुरा समेट्न खोजेको लेखक कायस्थले बताए। पुस्तक साहित्यकार बलदेव बजगाईँ, सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष उद्धव ढुङ्गाना, पूर्वसांसद लेखनाथ न्यौपानेलगायतले संयुक्तरूपमा विमोचन गरे।

सो अवसरमा साहित्यकार बजगाईँले भारतको नेपाल नीति पुस्तकले समेट्न सकेको बताए। उनले नेपाललाई भारतले कसरी किन आफ्नो अधिनमा राख्न खोज्ने, चीनसँगको सम्बन्ध र भारतको सम्बन्धमा यस पुस्तकमा ठूलो समीक्षा गर्न खोजिएको उनले जानकारी दिए।

नेपाल साहित्य मन्दिरका अध्यक्ष अगिव बनेपालीले प्रजातान्त्रिक समाजवादका अभियानकर्मी बिपीको विषय तर नेपालको सार्वभौमसत्ता एवं नेपालको विभिन्न घटनाक्रम जसका कारण देश विकास हुन नसकेका विषयलाई पुस्तकमा सुक्ष्मरूपमा विश्लेषण गर्न खोजिएको बताए।

सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष मदन ढुङ्गानाले अध्ययन र खोजका आधारमा प्रकाशित भएको पुस्तक नयाँ पुस्ताका लागि नेपालको विषयमा अध्ययन गर्ने राम्रो विषयवस्तु भएको बताए। वाम विश्लेशक एवं साहित्यकार ओमचरण अमात्यले पछिल्लो समयमा नेपाललाई भारतमा गाभ्न भारतीयहरू लागिपरेको समयमा बिपीलगायतका नेताहरूले कस्तो भूमिका निभाए भन्ने विषयमा चर्चा गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×