पाकिस्तान- पाकिस्तानको पञ्जाव प्रान्तमा एक १४ वर्षीय बालकले आफ्नी आमा, दाइ र दुई दिदीबहिनीलाई गोली हानी हत्या गरेका छन्। अनलाइन गेम पब्जीको गलत प्रभावका कारण उनले आफ्नो परिवारको हत्या गरेको खुल्न आएको छ।
गत हप्ता लाहोरको काहना क्षेत्रमा आफ्ना २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका दुई छोरीहरुसँगै ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक मृत फेला परेका थिए। अनुसन्धानबाट परिवारमा बाँचेका तिनै १४ वर्षीय बालक हत्यारा भएको पुष्टि भएको छ। प्रहरीले हत्यारा नाबालिग भएका कारण नाम भने खुलाएको छैन।
प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तीमा ती बालकले पब्जी अनलाइन गेमको लतमा परेका कारण आफ्नो परिवारको हत्या गरेको स्वीकारेको उल्लेख गरिएको छ। विज्ञप्तीका अनुसार अत्यधिक समयसम्म गेम खेलेर बिताउँदा उनलाई मनोवैज्ञानिक समस्या देखिएको छ। आमाले बारम्बार पढाइमा ध्यान नदिने र अधिकांश समय खेलमा बिताएको भनि बारम्बार सम्झाउने गर्थिन्। घटना घटेको दिन पनि उनलाई आमाले पब्जी खेल्न नछोडेको भनि गली गरेको कारण उक्त बालकले राती सबै सुतेको बेला कपबोर्डबाट आमाको पेस्तोल निकाली एक एक गरी सबैको हत्या गरेको विज्ञ्यप्ति मार्फत बताइएको छ।
ती आमा श्रीमानसँग सम्बन्धविच्छेद गरी आफ्ना छोरा छोरीसँग बस्दै आएकी थिइन्।