गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषणा भएको छ। पालिकाभित्रका सबै घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाता लगाएर सकिएपछि बिहीबार पालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो।
सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गरे।
खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा ७२९ परिवारले जस्तापाता लगाएका छन्। उक्त कार्यका लागि विभिन्न आर्थिक वर्षमा गाउँपालिकाको रु दुई करोड ८४ लाख ३७ हजार ४२० खर्च भएको छ। आव २०७४/०७५ मा नौ लाख ६९ हजार ७३८, ०७५/७६ मा २३ लाख ७८ हजार ६० एवं ०७६/०७७ मा रु एक करोड ६३ लाख ६६ हजार ६२२ खर्च भएको गाउँपालिका उपाध्यक्ष खड्काले जानकारी दिए।
गाउँपालिकाका कूल ७२९ घरले खरको छाना हटाएर निःशुल्क जस्तापाता लगाएका छन्। गाउँपालिकाको वडा नं १ अग्लुङमा १४१, वडा नं २ बाँझकटेरीमा १८०, वडा नं ३ सिर्सेनीमा १४५ वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएका छन्।
त्यस्तै वडा नं ४ म्यालपोखरीमा ३२, वडा नं ५ मलयागिरीमा १०७, वडा नं ६ पुर्काेटदहमा ५२ र वडा नं ७ भनभनेमा ७० वटा घरले खरको छानो हटाएर जस्तापाता लगाएको गाउँपालिकाले जनाएको छ।
पालिकाभित्र विभिन्न कार्यक्रममार्फत थप ३२५ वटा घर निर्माण गरिएको छ। एकीकृत बस्तीअन्तर्गत १७, भूकम्पपश्चात् निजी आवासअन्तर्गत १४१, सुरक्षित नागरिक आवासअन्तर्गत १२८, जनता आवासअन्तर्गत सात र नमूना बस्तीअन्तर्गत ३२ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष केसीले बताए।
सांसद विष्टले गरिबी र अभावका बीचमा पनि ग्रामीण भेगमा जस्तापाता लगाउनु ठूलो सफलता भएको जानकारी दिए। “खरको छानो भएको घरमा हुने पीडाबाट बाहिर निस्कन सकेका छौँ”, उनले भने, “जिल्लाभर सबै पालिकामा खरको छानोमुक्त बनाउने अभियान चलिरहेको छ।” मदाने खरको छानोमुक्त हुने जिल्लाको दोस्रो स्थानीय तह हो। यसअघि जिल्लाको धुर्काेट गाउँपालिका खरको छानामुक्त घोषणा भइसकेको छ।