काठमाडौँ - कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो। कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ। आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३ ) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ।
नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्प प्रायः भएको थियो। आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकामा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो। साथै, मुख्य सुरुङमा पूर्वानुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो। ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिएको बताए।