काठमाडौँ - अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा आयरल्याण्डले २-०को अग्रता लिएको छ। ५ खेलको टी-२० सिरिजमा आयरल्याण्ड लगातार दोस्रो टी-२० मा विजयी हुँदै सिरिजमा अग्रता लिएको हो।
घरेलु टोली आयरल्याण्डले गएराति भएको खेलमा अफगानिस्तानमाथि ५ विकेटको सहज जीत दर्ता गर्न सफल भयो। अफगानिस्तानले दिएको १२३ रनको सामान्य लक्ष्य पूरा गर्न भने १९ औं ओभर खेल्नु परेको थियो।
आयरल्याण्डलाई जिताउनका लागि एन्डी बालबेर्नीले सर्वाधिक ४६ रन जोड्दा लुर्केन टुर्केरले २७ तथा जर्ज डकरोलले नटआउट २५ रनको योगदान गरेका थिए। अफगानिस्तानका लागि मोहम्मद नावीले २ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो। अफगानिस्तानका लागि हजमतुल्लाह शाहिदीले ३६ र ईब्राहिम जाड्रनले १७ रनको पारि खेलेका थिए।
यस्तै अजमतुल्लाह उमरजाईले ११ र नभिन उल हकले नटआउट १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आयरल्याण्डका लागि गारिथ डिलेनी, कुर्थिस च्याम्फियर, मार्क अडिर र जोस लिटिलले २/२ विकेट लिएका थिए।