काठमाडौँ - एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ।
आगामी वैशाख २३ र २४ गते राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि हाललाई संयोजक एक, महासचिव एकसहित ३५ सदस्यीय सचिवालय समिति गठन गरिएको हो। नेपाल निजामती कर्मचारी सङ्गठनको नाम परिवर्तन गरी सङ्गठनका पूर्व अध्यक्ष घिमिरेको संयोजकत्वमा नयाँ सङ्गठन निर्माण गरेर सबै सेवा, समूह र तहका कर्मचारी रहनसक्ने व्यवस्था गरिएको छ।
सङ्गठनको तत्कालीन नेतृत्वलगायतको अध्यक्षता र उनीहरुले विधानविपरीत गरेको क्रियाकलापका कारण नयाँ सङ्गठन स्थापना गरिएको जनाइएको छ। यही फागुन मसान्तभित्र सबै मातहत कमिटीलाई एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नाममा रुपान्तरण गरी सङ्गठनलाई श्रम तथा व्यवसायजन्य विभागमा विधिवत् रुपमा चाँडो दर्ता गर्ने प्रक्रिया अगाडि बढाइने बताइएको छ।
सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलाई कर्मचारी मैत्री बनाइ तत्काल जारी गर्न एवं इच्छाविपरित समायोजन गरिएका कर्मचारीलाई पुनः एकपटक रोज्न दिने व्यवस्थाका लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने सङ्गठनले जनाएको छ।
सङ्गठनले तीनै तहको प्रशासनिक क्षेत्रमा उत्पन्न जटिल समस्यामा केन्द्रित बहस, पैरवी र खबरदारीका पक्षमा दबाब सिर्जना गर्ने अध्यक्ष धिमिरेले जानकारी दिए। मुलुकको ट्रेड युनियन आन्दोलनको रक्षाका लागि सङ्गठन क्रियाशील रहने बताइएको छ।