काठमाडौँ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्।
सोमबार दिउँसो लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको विषयमा छलफल गर्न गृहमन्त्री श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बैठक गृह मन्त्रालयमा बसिरहेको छ। बैठकमा मन्त्री श्रेष्ठसँगै गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका सिडिओ जितेन्द्र बस्नेत सहभागी छन्।
सोमबार दिउँसो नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरु बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिर्दा सुरक्षाकर्मीहरु हेरेको हेर्यै भएका थिए। लामो समयदेखि आन्दोलनमा रहेका लघुवित्त पीडितहरु अनि जबर्जस्ती संसद परिसरभित्र प्रवेश गरेका थिए।
उनीहरु संसद परिसरभित्र छिरेपछि मर्यादापालकहरुले नियन्त्रणमा लिने प्रयास गरेका थिए तर आन्दोलनकर्मीहरु उल्टै सुतेर विरोध प्रदर्शनमा उत्रिएका थिए। संसद् भवनभित्र संसद् चलिरहेकै बेला लघुवित्त पीडितहरु संसद परिसरभित्र छिरेका हुन्।