काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परले इंग्लिस युवा डिफेन्डर जेड स्पेन्सलाई क्लबमा अनुबन्ध गरेको छ।
टोटेनहमले स्पेन्सलाई च्याम्पियनसिप क्लब मिडल्सब्रगबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो। उनको मुल्य १२.५ मिलियन पाउन्ड वरपर रहेको बुझिएको छ।
इंग्ल्यान्डको यू-२१ टोलीबाट खेलिसकेका डेजेड टोटेनहमले यो समर ट्रान्सफरमा अनुबन्ध गरेको छैटौं खेलाडी हुन्। यसअघि टोटेनहमले इभान पेरिसिस, फ्रेजर फोस्र्टर, यवेस विसौमा, रिचार्लीसन र क्लेमेन्ट लेङ्लेटलाई अनुबन्ध गरिसकेको छ।
२१ वर्षीय राइट ब्याक डेजेड स्पेन्सले गत सिजन नटिङहम फरेस्टलाई प्रिमियर लिगमा बढुवा गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। उनी गत सिजन लोनमै नटिङहम फरेस्टमा पुगेका थिए।
नटिङहम फरेस्ट २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको थियो। फुलहम एकेडेमीका उत्पादन उनले फरेस्टका लागि गत सिजन ४६ खेल खेल्दा ३ गोल गरेका थिए।
टोटेनहममा अनुबन्ध भएसँगै स्पेन्सले सामाजिक सन्जाल ट्वीटरमा फरेस्टलाई बिदाई सन्देश दिँदै टोटेनहम विशाल क्लब र विशेष समर्थक रहेको लेखेका छन्। ‘हामी तलबाट आएका थियौं र माथिसम्म पुग्यौं। हामीले सपनाहरुलाई वास्तविकतामा परिणत गर्यौं। हामी सबैले सँगै बाँडेको विशेष यात्राको लागि धन्यवाद दिन चाहन्छु,’ स्पेन्सले लेखेका छन्।