काठमाडौँ - नेपालमा दुई वर्षअघि नै सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ भारतमा पनि प्रदर्शन हुने भएको छ।
विभिन्न संघ-संस्था तथा विद्यालयहरूमा हालसम्म पनि निरन्तर च्यारेटी प्रदर्शनीलाई निरन्तरता दिईएको ऐतिहासिक कथामा आधारित यो फिल्म अब भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको हो।
फिल्मकी कार्यकारी निर्मात्री जुनु गौतमले आगामी सेप्टेम्बर २ देखि भारतका विभिन्न स्थानहरूमा फिल्म एकसाथ प्रदर्शन हुने निश्चित भएको बताएकी छिन्। साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृतिमाथि बनेको फिल्म सेप्टेम्बर २ देखि सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै भारतको उत्तर पूर्वका विभिन्न राज्यमा प्रदर्शन हुन लागेको हो।
झमकको कृति पढिसकेका र ट्रेलर रिलिजसँगै नेपाल प्रदर्शनको समयबाट प्रतिक्षा गरिरहेका भारतमा रहेका नेपाली मूलका दर्शकमाझ फिल्मको माग भए अनुसार प्रदर्शनी तय भएको फिल्मका निर्देशक विनोद विष्टले बताएका छन्। भारतमा रहेका नेपालीमाझ फिल्म लोकप्रिय बन्ने विश्वास निर्माता समेत रहेका निर्देशक विष्टले लिएका छन्।
विश्वव्यापी रूपमा कोरोना महामारी फैलिए पश्चात यो फिल्मको भारत प्रदर्शन रोकिएको थियो। फिल्ममा झमक सानो छँदाको भुमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भुमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्।
त्यस्तै, यो फिल्ममा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारहरूको अभिनय रहेको छ। झमक घिमिरेको कथा कृति बोलेको फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र झमक र मुक्तीको संवादमा सहकार्य रहँदा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ। फिल्मका कार्यकारी निर्मातामा गौतमसँगै बद्री चौहान र उमेश सुवेदी रहेका छन्।
फिल्ममा समावेश गीतहरूमा शब्द संगीत प्रकाश शिवाकोटीको रहेको छ भने एक गीतमा झमक स्वयमंले शब्द लेखेकी छिन्। समावेश गीतहरूमा स्वर जुनु गौतम, सरिता गजमेर र मीना निरौलाको रहेको छ। गीतका भिडियोहरूमा कोरियोग्राफी कमल राईको रहेको छ।