काठमाडौँ - तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान रहेको तेमाल डाँडामा गुम्बा निर्माण भएको छ।
तेमाल गुरु रेन्पोछेको (गुरु पद्म संभवको पवित्र भूमि) भएकाले त्यसको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनको हिसाबले सो गुम्बाले बाह्य तथा आन्तरिक पर्यटन आकर्षण गर्न टेवा पुर्याउने छ। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरका स्थानीय बासिन्दाले तीन दशक अगाडि बनाएको गुम्बा निर्माणको सोच अहिले कार्यान्वयनको चरणमा अगाडि बढिरहेको छ।
समाजसेवी जगतमान दोङको नेतृत्वमा उग्येन पुज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समिति गठन गरी थालनी गरेको कार्यले अहिले गुम्बाको भवन निर्माण गरी बुद्धका विभिन्न आकृतिका मूर्ति बनाउने काम सुरु भएको छ। त्यसरी निर्माण भइरहेको गुम्बा, परम्परा, कला, संस्कृति हेर्न पर्यटक आकर्षण गर्ने स्थलका रुपमा विकास गर्न गुम्बा निर्माण गरिएको दोङले बताए।
दोङले सामाजिक रूपमा लामा मात्रै पढाउने र ढ्याङ्ग्रो ठटाउने काम मात्रै नभई सामाजिक कार्य, स्वास्थ्य शिविरलगायतका समुदायसँग जोडेर गर्नुपर्ने काम सो गुम्बाको हुने जनाए। तामाङ समुदायको परम्परागत ज्ञानको खोजी र त्यसको प्रयोगका काम गर्नका लागि आवश्यक योजना बनाइरहेको उनले बताए। “हामीले समाज परिवर्तनका लागि सानो कामबाट सुरु गरौँ भनेर लागिरहेका छौँ”, उनले भने, “बौद्ध शिक्षामार्फत समाज परिवर्तनका लागि सानो प्रयास गरिरहेका छौँ।” त्यससँगै आर्थिक उपार्जनमा बौद्ध शिक्षाले के गरिरहेको छ भन्ने विषयमा खेन्पो गुरुसँग सल्लाह गरेर त्यसलाई पनि टेवा पुग्ने खालको कामसमेत अगाडि बढाउने योजनाका साथ काम गरिरहेको दोङले बताए।
सो गुम्बा निर्माणका लागि बुद्धका मूर्ति बनाइरहेका मूर्तिकार उर्गेन वाङ्दीले करिब एक वर्षमा मूर्ति निर्माण गरिसक्ने बताए। “त्यसका लागि हामी तीन चारजना खटिरहेका छौँ”, उनले भने, “मसँगै अरु साथी स्थानीय बासिन्दा नै छन्।” मूर्तिकारको काममा अन्य व्यक्तिले सहयोग गरेका छन्। कतिपयले आर्थिक र नहुनेले श्रमदान गरी सहयोग गरिरहेका छन्।