काठमाडौँ - सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ।
विशेषगरी, काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो। संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत संरचना बनाउँदा पटकपटक पत्राचार गर्ने गरेको छ। यसै साता, काठमाडौँ महानगरपालिकाले यस्ता सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको नौतले दरबारअघि राष्ट्रिय झण्डा राख्न भन्दै कङ्क्रिट संरचना बनाउन सुरु गर्यो।
महानगरपालिकाले राति राति खाल्डो खनेर संरचना बनाउन थालेपनि के गर्न लागेको भन्ने स्थानीयवासीलाई पत्तै पाएनन्। स्थानीयवासी हरिबहादुर शाही सम्पदास्थलको अस्तित्व नै मेटाउने गरी स्थानीय सरकारले रातारात संरचना बनाउने काम नै गलत भएको बताउँछन्। महानगरपालिकाले अपारदर्शी रूपमा आठ राष्ट्रिय झण्डा राख्न नौतले दरबारअघिको वसन्तपुर डबलीमा खाल्डो खनेर सिमेन्ट संरचना बनाउन थालेपछि पुरातत्व विभागले पटकपटक पत्राचार गरेको थियो। महानगरपालिकाले विभागको पत्राचार वेवास्ता गर्दै कामलाई निरन्तरता दियो।
महानगरपालिकाले विश्व सम्पदा स्थल मास्न लागेको देखेपछि सम्पदा बचाउ अभियानकर्मीले आपत्ति समेत जनाए। सम्पदा अभियानकर्मी गणपतिलाल श्रेष्ठ निर्माण स्थलमा सूचनापाटीसमेत नराखी काम गरेकाले मेलम्चीको पाइप बिच्छ्याउन लागिएको वा विद्युत्को तार भूमिगत गर्न तार बिच्छ्याउने खाल्डो पो खनेको हो कि भन्ने भ्रमसमेत परेको बताउँछन्। महानगरपालिकाले स्थानीयवासीलाई जानकारीसमेत नदिई रातारात संरचना ठड्याउन खोजेपछि अभियानकर्मी महानगरपालिकाकै अनुगमन समिति गुहार्न बाध्य भए।
गत मङ्गलबार महानगरपालिकाको अनुगमन समितिले वसन्तपुर दरबार क्षेत्रको अनुगमन गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत निर्माण भएको फलामको संरचना हटाउन निर्देशन दियो। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ संयोजकत्वको अनुगमनमा हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीलगायत सम्पदा बचाउ अभियानका सदस्यको पनि उपस्थिति थियो। समितिले सम्पदा स्थलको पहिचान मेटाउने गरी निर्माण भएको संरचना भत्काउनुपर्ने निष्कर्ष निकालेको थियो।
अनुगमनलगत्तै पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको कार्यकक्षमा सरोकार भएका निकायको बैठक बस्यो। बैठकले तत्कालै विश्व सम्पदा स्थलको मापदण्ड विपरीत बनेको संरचना हटाउने निर्णय गरेपछि यही चैत १ गते मङ्गलबार बेलुकी महानगरीय प्रहरी वृत्त जनसेवालगायत सरोकार भएका निकायले फलामको संरचना हटाए।
खाल्डो खनेर निर्माण भएको सिमेन्टको संरचना भने अझै वसन्तपुर दरबार क्षेत्रमा यथावत् छ।