काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्। आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ।
आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको छ। यो समूहमा गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। आज आर्मीले कर्णालीलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ तर हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ। समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
पुलिस १ खेल अगावै सेमिफाइनलमा पुगेको छ। आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ। मधेस ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ। मधेस पहिलो पटक सेमिफाइनलमा पुगेको हो।