काठमाडौँ - नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय खेलमा ६ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रोहित कुमार पौड्यालले कीर्तिमानी शतक बनाए। १०७ बल खेलेका उनले ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाए। रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्नै दोस्रो खेलाडी बनेका छन्। त्यस्तै उनले पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन्। त्यस्तै नेपालका लागि आरिफ शेखले ३४ रनको योगदान गर्दा कुशल भुर्तेलले ३२ रन जोडे।
बलिङतर्फ पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक तीन विकेट लिए। त्यस्तै कार्लेस एमिनी र असाड भालाले दुई–दुई विकेट लिए। नोसाइना पोखानले एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो।
पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले। त्यस्तै पीएनजीका कप्तान असाड भालाले ६० रनको अर्धशतकीय पारी खेले। पीएनजीका लागि नोरमान भानुवाले ४७ रन बनाए। त्यस्तै जोसन किलाले १३ रनको योगदान गरे। उराले ३८ रन बनाए।
आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलेको हो। यो जितसँगै पीएनजीले सिरिजमा १–० को अग्रता बनाएको छ।