काठमाडौँ - स्पिनर ज्याक लिचले इंल्याण्डको रोमाञ्चक नयाँ टेस्ट युगमा खेल्ने जस्तो अनुभव कहिल्यै नगरेको भन्दै कप्तान बेन स्टोकको नेतृत्वमा खेल्नु विशेष रहेको बताएका छन्।
हेडिङ्लेमा न्युजिल्याण्ड विरुद्धको तेस्रो टेस्टको दोस्रो पारीमा लिचले ६६ रन दिएर ५ विकेट हात पारेका थिए। उनले पहिलो पारीमा पनि १०० रन दिएर ५ विकेट नै लिएका थिए। लिचले एकै टेस्टमा १० विकेट लिएको यो पहिलोपटक हो।
कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याकुलमको नेतृत्वमा आफ्नो आक्रमणको दृष्टिकोणलाई निरन्तरता दिँदै २ विकेट गुमाउँदै १८३ रन जोडेको इंग्ल्याण्डलाई जितका लागि ११३ रन आवश्यकता रहेको छ।
‘यो टोलीको एक हिस्सा हुनु धेरै विशेष छ,’ लिचले स्काई स्पोर्ट्ससँग भने ‘मैले यो कहिल्यै देखेको वा यस्तो राम्रो महसुस गरेको छैन। स्टोक्सलाई आफ्ना निर्णयहरूमा विश्वास छ र आफ्ना खेलाडीप्रति पनि।’ घरेलु टोली इंग्ल्याण्डले विश्व टेस्ट च्याम्पियनविरुद्ध ३ खेलको सिरिजमा २-० को अग्रता लिएको छ।
यदि इंग्ल्याण्डले तेस्रो टेस्टमा पनि जित निकाल्यो भने लगातार ३ टेस्टमा २५० भन्दा बढी लक्ष्य पछ्याउने पहिलो टोली बन्नेछ। स्टोक्स र म्याकुलम, जसले इंग्ल्याण्डको १७ टेस्टमा १ जितको निराशाजनक रन पछि जिम्मेवारी सम्हालेका थिए। उनीहरूको टोलीलाई मनोरञ्जनात्मक क्रिकेट खेल्न प्रोत्साहन दिएका थिए।
लिच मोइन अली पछि एक टेस्टमा १० विकेट लिने पहिलो इंग्ल्याण्ड स्पिनर हुन्। अलीले सन् २०१७ एकै टेस्टमा १० विकेट हात पारेका थिए। लिचले सबैभन्दा लामो ढाँचालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भइरहेको बताएका छन्।
‘तपाईंले बुझ्नुहुन्छ कि मैले खेलेका टोली, मैले सोचेको तरिका, धेरै निर्णयहरू नकारात्मकताको वरिपरि गरिन्छ,’ उनले भने ‘धेरै ४ वा ५ दिने खेलहरू जित्नको लागि तपाईंले चाँडै नै हार मान्नु हुन्छ तर स्टोक्स र म्याकुलमको नेतृत्वमा तपाईंले सधैं जितका लागि जोड दिनुहुन्छ जस्तो लाग्छ, त्यसैले त्यहाँ वास्तवमै धेरै खराब अवस्था कहिल्यै हुँदैन।’
लिचले हालैका वर्षहरूमा बिरामी, टोलीको सन्तुलन र यस महिनाको सुरुमा चोटपटकका कारण टेस्ट टोलीमा स्थान कायम गर्न संघर्ष गरिरहेका छन्। ‘मेरो लागि सबैभन्दा ठूलो कुरा आफैमा विश्वास हुनु हो, यसका साथै बेन र म्याकुलमले मलाई धेरै मद्दत गरेका छन्,’ उनले भने।