हिउँले बागलुङका डाँडाकाँडा ढाकिएः किसानलाई राहत

बागलुङ - गएरातिको रिमझिम झरीसँगै खसेको हिउँले यहाँका डाँडाकाँडा ढाकिएका छन्। तलतल बस्तीसम्मै हिउँ झरेको छ। केही दिनयता मौसम धुम्मिएर चिसो बढिरहेका बेला हिमपातले झन् जाडो थपेको छ। जाडोका कारण यहाँको जीनजीवन प्रभावित बनेको छ।

ढोरपाटन, घुम्टे, गाजा, डुँडेलेक, बेलढुङ्गा, घोडाबाँधे, थामानेटालगायत पर्यटकीयस्थल हिउँले सेताम्मे बनेका छन्। घोडाबाँधेदेखि तल बिहुँ पोखरासम्मै हिउँ परेको रिजालचोकका होटेल व्यवसायी विष्णु थापाले जानकारी दिए। “रातिदेखि नै हिउँ पर्न थालेको हो, बिहान उठ्दा त खात लाइसकेको थियो”, उनले भने। सोही ठाउँ भएर मध्यपहाडी पुष्पलाल लोकमार्गमा चल्ने सवारीसाधन पनि हिउँ छिचोल्दै गन्तव्यस्थलतर्फ लागिरहेका छन्। 

चिसोले गर्दा जरुरी नपरी मानिसहरु घरबाहिर निस्केका छैनन्। ताराखोला गाउँपालिकाको केन्द्र भात खाने डाँडासम्मै हिउँ खसेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए। भातखाने डाँडा एक हजार ६०० मिटरको उचाइमा छ। “अहिले पनि हल्का वर्षा र हिमपात भइरहेको छ, चारैतिर सेताम्मे छ”, उनले भने, “डुँडेलेक, सीपलगायत उपल्लो भेग हिउँले छोपेको छ, मौसम सारै चिसो छ।” गलकोटको घुम्टे लेक, निलुवा, पाण्डवखानीलगायतका ठाउँमा पनि भारी हिमपात भएको छ। देशकै एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्र पनि हिउँले ढाकिएको छ। 

तीन फिटसम्म बाक्लो हिउँ परेको आरक्ष कार्यालयले जनाएको छ। बागलुङ–पूर्वी रुकुमको सीमा पातीहाल्नेमा हिमपातले सडक यातायात प्रभावित बनेको छ। हिउँले अवरोध पुर्‍याएका ठाउँमा सडक सफाइ गर्न सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन्। सदरमुकाम बागलुङ बजार वरिपरिका डाँडा र बस्तीमा पनि बाक्लो हिमपात भएको छ। पर्वतको मल्लाज, बनौ लगायतका ठाउँ पनि हिउँले सेताम्मे छन्। हिउँ पर्दा रमाउनेहरु पनि छन्। पर्यटकीयस्थलमा हिउँ खेल्नेको चहलपहल देखिन थालेको छ। 

सहरियाहरु हिउँ परेको याममा बढी आनन्द लिन्छन्। घरै छाडेर उनीहरु हिउँ खेल्न डाँडातिर उक्लन्छन्। वर्षा र हिमपातले किसानलाई भने फाइदै पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख भानु भट्टराईले बताए। “किसानलाई अहिलेको वर्षा अमृत समान हो, अन्न र तरकारी बालीलाई यसले राहत मिलेको छ”, उनले भने, “माटोमा चिस्यान बढ्दा बीउ छिटो उम्रने, बालीको उब्जाउ बढ्ने हुन्छ।” हिउँदे आलु लगाउने तरखरमा रहेका किसानलाई पनि अहिलेको वर्षाले राहत दिलाएको उनको भनाइ छ।

तल्लो भेगमा हिउँ नपरी वर्षा मात्र भएकाले बँेसीको गहुँ र तोरीबारीलाई फाइदा पुगेको प्रमुख भट्टराईले बताए। तलैसम्म भारी हिमपात भएको भए तोरी बाली नाश हुन सक्थ्यो। हिउँदे वर्षाले फलफूललाई पनि फाइदा पुग्ने उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×