काठमाडौं - बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आज दिउँसो नदीभित्र महिलाको शव भेटिएको हो ।
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस (आदामघाट) बाट खटिएको गोताखोर टोलीले महिलाको शव फेला पारी नदीबाट निकालेको उनले बताए ।
उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तर नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठकमध्ये एक जना मात्र महिला भएकाले उनी नर्मदा हुने सम्भावना छ। तर प्रहरीले पुष्टि गरिसकेको छैन ।
यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो। अन्दाजी २०÷२५ वर्षका पुरुष उनको पहिचान हुन बाँकी छ ।
मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।