आइपिएलकाे फाइनलमा राजस्थान र गुजरात

काठमाडाैँ - इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा राजस्थान रोयल्स ​प्रवेश गरेको छ। गए रातिको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान राेयल्स उपाधि नजिक पुगेको हो।

राजस्थानले उपाधिका लागि आइतबार  गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराउँदै फाइनल पुगेकाे थियाे। सन् २००८ काे पहिलाे संस्करण विजेता राजस्थानले त्यसयता पहिलाेपटक फाइनलमा स्थान बनाएकाे हाे।

राति भएकाे खेलमा  बैंगलाेरले दिएकाे १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। राजस्थानका लागि जोस बट्लरले अविजित १०६ रनको शतकीय पारी खेलेका थिए। ६० बलकाे सामना गरेका उनले १०  चाैका र ६ छक्का प्रहार गरेका थिए।

जारी आइपिएलमा बट्लरकाे याे चाैथाे शतक हाे। याेसँगै उनले २०१६ मा बैंग्लोरका विराट कोहलीले प्रहार गरेको एकै सिजनमा सर्वाधिक ४ शतकको कीर्तिमान बराबरी गरेका छन्।

खेलमा कप्तान सञ्जु स्यामसनले २३ तथा यशस्भी जैसवालले २१ रन बनाए।​ बैंग्लोरका जोश हेजलउडले दुई तथा वानिन्दु हसरंगाले एक विकेट लिएका थिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र माेदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएकाे थियो।

बैंग्लोरका रजत पटिदारले ५८ रनको अर्धशतकीय पारी खेले। उनले ४२ बलमा चार चाैका र तीन छक्का प्रहार गरेका थिए। कप्तान फाप डु प्लेसिसले २५ , ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमदले अविजित १२ रन जाेडेका थिए।

राजस्थानका प्रशिद्ध कृष्ण र ओबेड म्याककोयले तीन/तीन तथा ट्रेन्ट बाेल्ट र रवीचन्द्रन आश्विनले एक/ एक विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×