काठमाडौँ- लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुके पनि काइलियन एमबाप्पेले अन्तिम समयमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ मा रियाल मड्रिडलाई १–० ले हराएको छ।
एमबाप्पले फ्रेन्च लिग वानमा पनि अन्तिम समयमा गोल गर्दै पीएसजीलाई धेरैपटक जिताएका छन्। गएको शुक्रबार राति रेनसविरुद्ध पनि एमबाप्पले इन्ज्युरी समयमा गरेको गोलमा पीएसजीले १–० को नतिजा निकालेको थियो। गए राति च्याम्पियन्स लिगमा त्यही अवस्था दोहोरियो। वैकल्पिक खेलाडी नेइमारले दिएको पासमा एमबाप्पेले दुई विपक्षी रक्षकलाई कटाएर हानेको प्रहार रियालका गोलकिपर थिबाउट कोर्तुवाको टाङमुनिबाट छिरेको थियो।
रियालका गोलकिपर कोर्तुवाले त्यसअघि एमबाप्पेका थुप्रै प्रयासलाई विफल बनाइदिएका थिए। उनले ६२औँ मिनेटमा मेसीको पेनाल्टी प्रहार पनि बचाएका थिए। अन्तिम मिनेटमा भने उनी एमबाप्पेलाई रोक्न सफल भएनन्।
‘‘मैले मेसीको पेनाल्टी धेरैपटक अध्ययन गरेको थिएँ । मैले लाइनमा बसेर उनीसँग खेल्ने प्रयास गरेँ,’’ रियालका गोलकिपर कोर्तुवाले भने, ‘‘कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्छ।’’
मेसीले बार्सिलोनामा हुँदा रियालविरुद्ध खेलेको ४५ खेलमा २६ गोल गर्नुका साथै १४ मा अवसर सिर्जना गरिदिएका छन्। तर, यसै सिजनको सुरुमा पीएसजीसँग अनुबन्ध भएपछि मेसी रियालविरुद्ध गोल गर्न असफल भएका छन्। एमबाप्पेले यस सिजनको अन्त्यसँगै रियालमा अनुबन्ध हुने भनेर चर्चा भइरहेको छ। गत सिजन रियालले राखेको १८ करोड युरोका प्रस्तावलाई पीएसजीले अस्वीकार गरेको थियो। यो सिजनको अन्त्यसँगै एमबाप्पेको पीएसजीसँगको सम्झैता समाप्त हुनेछ।
‘‘अहिले म मेरो खेलमा मात्र केन्द्रित छु। बाहिर धेरै कुरा आइरहेका छन्। तर, सत्य भनेको म मेरो खेलमा मात्र केन्द्रित छु,’’ एमबाप्पेले भने, ‘‘पीएसजीलाई उपाधि दिलाउन मेरोतर्फबाट सबै प्रयास गर्नेछु।’’
पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। रियालले भने कीर्तिमानी १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ। सन् २०१८ मा उपाधिमा ह्याट्रिक गरेपछि रियालले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सकेको छैन।
रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले घरेलु मैदानमा नतिजा निकाल्दै प्रतियोगितामा अगाडिको यात्रा तय गर्ने विश्वास व्यक्त गरेका छन्। ‘‘म विश्वस्त छु कि घरेलु मैदानमा हामी नतिजा निकाल्नेछौँ,’’ रियालका प्रशिक्षक एन्सेलोट्टीले भने, ‘‘दोस्रो लेगमा समर्थक हाम्रो पक्षमा हुनेछन्। हामीले राम्रो पासहरू खेल्न सकेनौँ। बल आफ्नो खुट्टामा हुँदा हामीले सुधारिएको प्रदर्शन गर्न जरुरी छ।’’