काठमाडौँ - इटालियन सिरी ‘ए’ क्लब एएस रोमाका मिडफिल्डर हेनरिक मिखटरयान इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन्।
उनी फ्रि ट्रान्सफरमा इन्टरमा अनुबन्धित भएका हुन्। ३३ वर्षीय मिडफिल्डर हेनरिकको रोमामा सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो। तर, क्लबले सम्झौता नवीकरणका लागि कुनै चासो नदेखाएपछि उनी इन्टरमा पुगेका हुन्। उनी इन्टर मिलानबाट खेल्ने पहिलो अर्मेनियाली खेलाडी बन्नेछन्। हेनरिकले रोमामा एक सिजन लोनसहित तीन वर्ष बिताएका छन्। उनले रोमाका लागि १ सय १७ खेलमा २९ गोल गरेका छन्।
अर्मेनियन क्लब पायोनिकबाट व्यवसायिक खेल करिअर सुरु गरेका हेनरिकले २ सिजन युक्रेनी क्लब मेटारलर डोनेट्स्कमा बिताएका थिए। त्यसपछि, युक्रेनी क्लब साख्तर डोनेट्स्कबाट खेलेका उनले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सेनलबाट खेलिसकेका छन्। इन्टरको नयाँ सिजनमा यो चौथो अनुबन्ध हो। यसअघि, इन्टरले चेल्सीबाट फरवार्ड रोमेलु लुकाकु, आयाक्सबाट गोलरक्षक आन्द्रे ओनाना, इम्पोलीबाट मिडफिल्डर क्रिस्टजन अस्लानी अनुबन्ध गरिसकेका छन्।