काठमाडाैँ - एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज राति नेपालले बलियो टोली जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा आज राति १ बजे जोर्डनको सामना गर्न लागेको हो।
गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा परेको थियो। समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो।
तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल भेन्युमा खेल हुनु त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए।
यसअघि समूह चरणको खेल होम एण्ड अवेका आधारमा हुँदै आए पनि यसपटक कोभिड-१९ महामारीले गर्दा एएफसीले सेन्ट्रल भेन्युलमा सिंगल राउण्डका आधारमा खेल गर्दैछ।
मुख्य ११ खेलाडीबिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ। नियमित कप्तान किरण चेम्जोङबिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुने छैन।
किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन्।