काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ ।
राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालले तत्काललाई पदाधिकारीलाई पूर्णता दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।
महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उनले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गरेका थिए । त्यहाँ प्राप्त सुझावका आधारमा त्यसलाई उनले पूर्णता दिएका छन्।
'हामी अरु बुर्जुवा पार्टी जस्तो पद र नेतृत्वका लागि भन्दा पनि विचारको बहसमा केन्द्रीत हुँदैछौं, माओवादी केन्द्रका एक नेताले भने, महाधिवेशनमा हामी समाजवाद यात्रा, विश्वराजनीति, वित्तीय पुँजीवाद, जलवायु परिर्वतन लगायका सबै विषयमा घनिभूत छलफल गर्ने छौं ।'
बहस र छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको माओवादीले जनाएको छ । केहीलाई हलमा र केहीलाई टेन्टमा बहसको व्यवस्था गरिएको छ भने ८÷९ वटा छलफल पार्टी कार्यालय पेरिसडाँडामा गर्ने तयारी माओवादी केन्द्रको छ ।
पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती थपिएको छ । त्यससँगै उहाँले तत्कालका लागि अध्यक्ष र केन्द्रीय समिति मात्र चयन गर्ने र अन्य पदाधिकारी पछि घोषणा गर्ने तयारी गरेका छन्।