काठमाडौँ - ड्यानियल क्रेगले फिल्ममा जेम्स बन्डको भूमिका खेलेर सकिएको हुनसक्छ, तर चरित्रले बोकेको विरासत अभिनेताको चरित्रसँग जोडिएको छ।
बेलायती राजकुमारी एनीले ५४ वर्षीय अभिनेतालाई सन् १८१८ मा स्थापित ब्रिटिश अर्डर अफ चाइवलरी भनिने सेन्ट माइकल र सेन्ट जर्ज पदवी प्रदान गरेकी छिन्।
यो पदवी क्रेग अभिनित काल्पनिक पात्र ००७ ले प्राप्त गरेको सम्मान समेत हो। बेलायतको राजपरिवारले सामाजिक सञ्जालमार्फत अभिनेता क्रेगलाई सम्मान प्रदान गरिएको जनाएको छ। फिल्म र थिएटर क्षेत्रमा योगदान पुर्याएबापत यो सम्मान प्रदान गरिएको उल्लेख गरेको छ।
द अर्डर अफ सेन्ट माइकल र सेन्ट जर्ज सन् २०१२ को फिल्म स्काइफलमा जब जेम्स बन्डको मृत्यु हुन्छ, त्यसमा पनि उल्लेख छ।
सन् २०२१ को सेप्टेम्बरमा पनि बेलायतको रोयल नेभीले पनि अभिनेता क्रेगलाई मानार्थ कमाण्डरको सम्मान प्रदान गरेको थियो। किनभने बन्ड चरित्र पनि रोयल नेभीकै एक सदस्य थियो।
अभिनेता क्रेगले सन् २००६ को क्यासिनो रोयल, सन् २००८ को क्वान्टम अफ सोलेस र सन् २०१५ को स्पेक्टरजस्ता जेम्स बण्ड फिल्ममा अभिनय गरेका छन्। यो सिरिजको अन्तिम फिल्मको रुपमा सन् २०२१ को नो टाइम टु डाइ रह्यो।
क्रेगको नयाँ फिल्म ‘ग्लास अनिअन : अ नाइभ्स आउट मिस्ट्री’ प्रदर्शनको तयारीमा छ भने जेम्स बण्डको नयाँ फिल्म निर्माणको तयारीमा छ। निर्माताले नयाँ बन्डको खोजी गरिरहेका छन्।