काठमाडौँ - बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जितेको छ। गोलबजार एससीलाई १-० ले पराजित गर्दै बागमतीले छनोटको उपाधि जितेको हो।
सातदोबाटोस्थित एन्फाको खेल मैदानमा बिहीबार भएको फाइनलमा बागमतीलाई उपाधि दिलाउन विमल घिसिङले गरेको गोल नै निर्णायक बन्यो। उनले ६१औ मिनेटमा गोल गरेका थिए।
नकआउट चरण अन्तरगत बागमती समूह २ को तथा गोलबजार समूह १ को विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो। नकआउटमा आफ्नो समूहमा पहिलो भएका दुवै टोली ‘सी’ डिभिजन लिगको लागि छनोट भइसकेका छन्। अब यि २ क्लबले आगामी बैशाख २२ गतेबाट हुने भनिएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ।
‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहँदा सहभागी टोलीलाई २० समूहमा विभाजन गरेर खेलाइएको थियो। समूह चरणपछि शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाएका थिए। नकआउटमा पुगेका २० टोलीलाई पुनः २ समूहमा विभाजन गरि खेलाइएको थियो।