काठमाडौँ - मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै संरक्षणसहितको विकास गर्नुपर्नेमा जोड दिइएको छ।
प्रेस चौतारी नेपाल, चितवन शाखाद्वारा आयोजित ‘वन्यजन्तु संरक्षण र विकासः आवश्यकता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। जिल्लामा मानव बस्तीभन्दा पहिला दुर्लभ वन्यजन्तुको बासस्थान भएकाले विकासका नाममा वन्यजन्तुको बासस्थान अतिक्रमण गर्न नहुनेमा उनीहरूको जोड रहेको छ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्रा कृष्ण काफ्लेले चितवन बाघ र गैँडालगायतका वन्यजन्तुको बासस्थान रहेको र मानव उनीहरूसँग मिलेर बस्न आएको बताए। उनले भने, “चितवन वन्यजन्तुको घर हो, हामी उनीहरूसँग मिलेर बस्न आएका हौँ।” दुई साताअघि पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा सडक विस्तारका लागि खनिएको खाडलमा परेर गैँडा मरेपछि बहस चलिरहेका बेला कार्यक्रमको आयोजना गरिएको हो। मानव उत्पत्तिसँगै प्रकृतिसँग द्वन्द्व सुरु भएको बताउँदै उनले भने, “मान्छेले प्रकृतिलाई जितौँला भन्ने नसोचे हुन्छ।” वन र वन्यजन्तुको संरक्षण गर्न नसक्ने हो भने विकराल स्थिति सिर्जना हुने उनले बताए।
उनले भने, “७५ प्रतिशत सरुवा रोग जङ्गली जनावरबाट मानिसमा आउँछन्। प्राकृतिक विनास भयो भने नयाँ–नयाँ मुसा, चरा, किरालगायतका जीवको उत्पत्ति हुन्छ र त्यसले मानव जातिमा ठूलो सङ्कट पैदा गर्दछ।” चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विकास जरुरी रहेको उल्लेख गर्दै भने, “संरक्षण अनिवार्य हो।” यहाँको वन र वन्यजन्तु हेर्नकै लागि पर्यटक आउने गरेको चर्चा गर्दै ढुङ्गानाले थपे, “त्यही देखाएर हामीले पर्यटकीय गतिविधि सञ्चालन गरेका छौँ, मध्यवर्तीमा रोजगारी सिर्जना भएको छ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा बाबुराम लामिछानेले साना–साना कुराले संरक्षणको क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए। सडक, रेलमार्ग, विद्युत ट्रान्समिसनलगायतले वन्यजन्तु संरक्षणमा प्रभाव पारेको चर्चा गर्दै उनले भने, “पूर्व–पश्चिम राजमार्गमा २७१ किलोमिटर जङ्गल पर्दछ।”