काठमाडौँ - गायिका जेरुसा राई बेपत्ता भएकी छिन्। बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन्।
हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन्। पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ। त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताएका छन्।
३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन्। उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ।
राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन्। उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ। उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन्।
उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन्। उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन्।