काठमाडौँ - नेपालले केन्याविरुद्धको टी-२० सिरिजमा जित निकालेको छ। ५ खेलमा नेपालले ३ खेलमा जित निकालेको हो। अन्तिम तथा निर्णायक मानिएको मंगलबारको खेलमा घरेलु टोली केन्यालाई नेपालले ३१ रनले पराजित गरेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमै समेटियो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए। उनको टी-२० आईमा करिअरको दोस्रो अर्धशतक हो। उनी खेलमा पवन सरार्फको स्थानमा ओपनिङमा उत्रिएका थिए।
यता, मध्यक्रमका रोहितकुमार पौडेलले २५ बलमा ७ चौकासहित ४७ रन बनाएका थिए। यस्तै, ओपनर अर्जुन साउदले २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाएका थिए। तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौकासहित २२ रन बनाएका थिए।
विकेक यादवले २ रन बनाए। यस्तै, यसअघि ओपनिङमा उत्रिँदै आएका पवनले भने १ रन मात्रै जोड्न सकेन। आदिल अन्सारीले ४ रन जोड्दा करण केसी २ रनमा अविजित रहेका थिए।
केन्याका लागि विराज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिएका थिए। यता, लुकास ओलुओचले १ विकेट लिए। अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ।