भारतका विभिन्न शहरमा 'प्रेम गीत ३' को पोस्टर

काठमाडौँ - असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'प्रेम गीत ३' को चर्चा नेपालमा मात्रै नभएर भारतमा पनि छ। कुनै पनि नेपाली फिल्मलाई हिन्दीमा डब गरेर, भारतकै वितरकले फिल्म किनेर नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो पहिलो पटक हो।

स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको फिल्मको पोस्टर भारतमा भर्खरै सार्वजनिक गरिएको छ। यतिवेला बलिउड, हलिउड जस्ता अन्य ठूला उद्योगका फिल्महरूको पोस्टर टाँसिने भारतका विभिन्न शहरमा 'प्रेम गीत ३' को पनि पोस्टर टाँसिएको छ।

भारत प्रदर्शनको तयारीका लागि यतिवेला मुम्बइमा रहेका फिल्मका निर्देशक तथा निर्माता सेनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। व्यस्त सडकका छेउमा टाँसिएका पोस्टरको फोटो राख्दै सेनले लेखेका छन्, 'मुम्बईलगायत भारतभर यसैगरी नेपाली फिल्मको पोस्टर टाँसिएको छ। बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने यी स्थान अहिले नेपाली फिल्म ‘प्रेम गीत ३’ ले ओगट्दै गर्दा असाध्यै खुशी लागेको छ।’ आफ्नो फिल्म भएकाले मात्रै नभएर एउटा नेपाली फिल्मको दर्शक भएर सोच्दा पनि यो खुशी र गौरवको कुरा रहेको उनले बताएका छन्।

'नेपाली फिल्म भारतीय बजारमा मात्रै होइन, भारतीय भाषा समावेश गरेर संसारभरका दर्शकसम्म पुग्दै छ। नेपालकै लोकेशन, नेपालकै कथा, नेपालकै कलाकार, नेपालकै प्राविधिकको वर्षौंसम्मको मिहेनत बलिउड बजार मात्रै होइन संसारका अत्याधुनिक दर्जनौं मल्टिप्लेक्समा नयां मेनुको रुपमा पुग्दैछ‚' उनले भनेका छन्, 'यदि यो सबैको रोजाइमा पर्‍यो भने हाम्रा परिकार मज्जाले बिक्नेवाला छ।'

यो अवस्थामा कसैले कसैको खुट्टा तान्नेभन्दा पनि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×