काठमाडौँ । वरपर गुराँसको जंगल। डाँडाको सम्म फाँट। एकान्त वातावरण। पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला। ग्रामीण बस्ती। बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान अ पर्यटकका पर्खाइमा छ।
स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए। “प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन्। सुनसान छ,” उनले भने, “अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बिच बाटोमा पर्ने आलडाडाको प्रर्वद्धन आवश्यक छ।” सो स्थानमा ‘हिमालयन भ्यू एण्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल बार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन्। आलडाडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ।
हिमाल र पृष्ठभूमिमा देखिने सुर्योदय र सुर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाडाको भ्रमणमा गर्नुभएका सुरेन गुरुङले बताए। गुराँसको जंगलका साथै बिभिन्न प्रजातिका बनस्पति, जडिबुटी, बन्यजन्तु र पंक्षीहरुको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए। करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाडा करबाकेही, राम्चे, नागी, मोहरेडाडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ। एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरुका लागि आलडाडा केन्द्र मानिन्छ। म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ।
राम्चे देखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिडेपछि आलडाडा पुग्न सकिन्छ।