काठमाडौँ । नेकपा (एमाले)का नवनिर्वाचित सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाल बार एशोसिएसनले सर्वोच्चमा गरिरहेको आन्दोलन गलत रहेको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले नेपालबारले गरेको आन्दोलनले राम्रो सन्देश नदिएको र न्यायसेवा प्रभावित भएको टिप्पणी गरेका हुन् ।
यसका साथै उनले नेपाल बारलाई तत्काल आन्दोलन फिर्ता लिन माग समेत गरेका छन् । उनले भने, ” नेपाल बारले जुन प्रकारले आन्दोलन गरिरहेको छ, यसले राम्रो सन्देश गएको छैन् । यसले न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ?”
उनले बारले गरेको आन्दोलनलाई नेपाली जनताले सकारात्मक रुपमा नलिएको बताए । “बारले जुन आन्दोलन अगाडि बढाएको छ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका छैनन् ।” उनले भने, “कसैलाई बलीको बोको बनाएर, कसैको ईच्छा होला प्रधानन्यायधीश बन्ने, कसैलाई यो सोच होला, न्यायालयले राम्रो काम गरेन भनेर हिजो आलोचना भएको थियो । हिजोको रहस्य अहिले खुलेको छ। नेपाल बारले यो आन्दोलन फिर्ता लिनुपर्छ ।”
यसका साथै उनले अहिलेको सरकारको धेरै कमजोरी रहेको समेत बताएका छन् । उनले बिना तयारी विदेश नीतिमा सरकार अघि बढेको र बेलायत, अमेरिका र चीनबाट राजदुत फिर्ता गरेको तर तुरुन्तै राजदूत पठाउन नसकेको कुरा समेत उद्धृत गरेका छन् ।