काठमाडौँ - अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ।
नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो। सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट ( बिओपी) स्थापना गरियो। बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्यो। सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो। भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ। अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ।
छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन्। अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ। तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन्। छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन। छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ।
सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन। मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन्।