काठमाडौँ - नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ। शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्ष स्थानमा रहेको छ। फ्रान्सले जापानविरुद्ध २५,२२, २७,२५, २५,१७ को सहज जित निकाल्यो।
यता, दोस्रो स्थानको पोल्याण्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो। १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्याण्डले २५,१७, २५,१९, २५, ११ को जित निकालेको हो। अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हराएको थियो। इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हराएको हो।
जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता रहेको छ। यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन्।