एजेन्सी - रुस र युक्रेन दोस्रो चरणको वार्तामा जुट्दैछन्। यो वार्ता बेलारुसको बेलोभेज्स्काया पुस्चामा हुँदैछ।
युक्रेनको प्रतिनिधिमण्डल रुससँगको दोस्रो चरणको वार्ताका लागि प्रस्थान गरेको रोयटर्सले जनाएको छ। तर आ–आफ्नै अडानका कारण दोस्रो चरणको वार्ता सकारात्मक हुने सम्भावना कम छ। रुसले गएको बिहीवारदेखि युक्रेनमा आक्रमण सुरु गरेको हो।
आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेन। युक्रेनले रुसले युद्ध रोक्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ।
रुस र युक्रेनका बीच युद्ध र वार्ता भइरहेका बेला रुसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको छ। झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरेका छन्। विश्वका धेरै देशले रुसले युक्रेन माथि गरेको आक्रमणको विरोध गरेका छन्।