खाँडो नदीमा पुल निर्माणको माग

काठमाडौँ - सप्तरीस्थित दशगज्जा क्षेत्र भएर बग्ने खाँडो नदीमा सर्वसाधारणको सहुलियत हुने गरी पुल निर्माणका लागि पहल गरिदिन हुन सरकारसँग आग्रह गरिएको छ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई भेटेर तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित नदीमा पक्की पुल नहुँदा नेपाल–भारततर्फका सर्वसाधारणलाई समस्या हुँदै आएकाले सो नदीमा पुल निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएका छन्। भारत विहारको सुपौल जिल्लाअन्तर्गत पर्ने कुनौली बजारसँग जोडिने सिमानामै खाँडो नदी छ। दुवैतिर सडक भए पनि नदीमा पक्की पुल भने छैन। दुई वर्षअघि सम्म त्यहाँ बाँसको पुल हुने गर्दथ्यो तर पछिल्लो बाढीका कारण जीर्ण बनेको सो पुललाई भारतीय सुरक्षाकर्मीले पुनःनिर्माण गर्न नदिएपछि अहिले पुलविहीन छ। “पुल नहुँदा दुवैतिरका आमजनतालाई निकै समस्या र चुनौतीको सामना गर्नु परिरहेको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ, “पुल नहुँदा सर्वसाधारण खाँडो खोलाबाटै वारपार गरिरहेका छन्, जुन बाढीको समयमा जोखिमपूर्ण छ।”

दुई देशबीचको व्यापारिक र पारिवारिक सम्बन्ध भए पनि दुवै देशले खाँडो नदीमा पुल निर्माणमा चासो नदिएको सो भेगका सर्वसाधारणको गुनासो रहेको पत्रमा उल्लेख छ। यस क्षेत्रमा पुल बनेमा सप्तरीवासीलाई बाढीको समयमा व्यापार व्यवसाय गर्न सहज हुनाको साथै सस्तो रूपमा सामानहरू किन्न सर्वसाधारण जनतालाई पनि राम्रो हुने तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिश सिँहले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×