काठमाडौं । सरकारी कार्यालयहरु र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।
गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो । यसअघि पनि संसदको वेबसाइट पटक–पटक डाउन भएका छन् । यसैगरी वेबसाइट ह्याक भएर संसदले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राखेका तत्कालीन सांसदहरुको भिडियो प्रोफाइल डिलिट भएको थियो । उक्त प्रोफाइल संसदले पुनः आफ्नो वेबसाइटमा अपलोड गर्न सकेको छैन ।
यस्तो समस्याले सरकारको क्षमतामाथि नै प्रश्न उठाएको बताउँछन् नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले भने, ‘नेपाल सरकारको वेबसाइट र सर्भर डाउन हुने र ह्याक हुने कुनै नयाँ विषय भएन ।’
गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट नै डाउन भएको र त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन भएको उनले संसदमा स्मरण गरे ।
‘अध्यागमन विभागको सर्भर डाउन हुँदा सयौं यात्रु करिब चार घण्टा लाइनमा बस्नुपर्यो । जसले गर्दा रातिका सबै उडानहरु प्रभावित भए,’ सांसद पौडेलले थपे, ‘सोही दिन भन्सार विभाग आसिकोडा डाउन हुँदा भन्सार कार्यालयको काम करिब पाँच घण्टा अवरुद्ध भयो ।’