काठमाडौँ - भदौ १७ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘‘झिङ्गे दाउ’ को बुधवार साँझ काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको छ। ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्मको प्रीमियर शोमा उपस्थित भएका फिल्मकर्मी तथा सञ्चारकर्मीहरुले यसलाई मौलिक नेपाली फिल्मको रुपमा प्रशंसा गरेका छन्।
प्रीमियर शोमा चलचित्र क्षेत्रका अधिकांश परिचित अनुहारहरु उपस्थित भएका थिए। समारोहमा फिल्मका मुख्य अभिनेत्रीहरु केकी अधिकारी तथा आँचल शर्मा आकर्षणको केन्द्र बनेका थिए।
फिल्म हेरेका अधिकांश कलाकारहरुले फिल्मको प्रस्तुति, विषयवस्तु, छायांकन तथा कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन्। फिल्म हेरेका कतिपय कलाकारहरुले सामाजिक सञ्जालमार्फत आफूलाई फिल्मले छोएको धारणा व्यक्त गरेका छन्।
फिल्मकर्मी दीपकराज गिरीले लेखेका छन्- ‘धेरैपछि अर्ग्यानिक कमर्शियल फिल्म हेरेँ। गाउँघरका कथा मन पराउनेले मज्जाले हेरे हुन्छ। मेरो पहिलो फिल्मको निर्देशक मित्र ज्ञानेन्द्र। तिमीसंग फेरी काम गर्न मन लाग्यो। शुभकामना!’
फिल्मकर्मी प्रदीपकुमार उदयले फिल्मलाई सफलताको शुभकामना दिँदै लेखेका छन्- ‘धेरै समयको अन्तरालपछि नेपाली चलचित्रको प्रिमियरमा उपस्थित भई निर्देशक ज्ञानेन्द्र देउजाको नेपाली कथानक चलचित्र ‘झिंगेदाउ’ हेर्ने मौका मिल्यो। निर्देशकले अत्यन्तै सुन्दर र सरल तरिकाले लोक शैलीमा कथा भन्न र देखाउन सफल हुनु भएको छ। निर्देशक, कलाकारहरु, प्राविधिकहरू र सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।’
निर्देशक वसन्त निरौला लेख्छन्- ‘कृतिलाई न्याय गरेर चलचित्र बनाउनु भएकोमा ज्ञानेन्द्र देउजालाई बधाई। चलचित्र पारिवारिक र कमर्सियल बनाउनु भएकोमा पनि, १७ गते शुक्रबारदेखि हेर्न नछुटाउनु होला।’
प्रीमियर शोमा फिल्म हेरेर फर्किने क्रममा फिल्ममा आमाको मुख्य भूमिकामा प्रस्तुत भएकी कलाकार हिउँवाला गौतमको आँखा रसाएको देखियो। उनले आफ्नो आँखा आँशु लुकाउन सकेकी थिइनन्। उनलाई आफैंले निर्वाह गरेको आमाको भूमिका तथा फिल्म कथाले छोएको सहजै अनुमान गर्न सकिन्थ्यो।
फिल्म हेरेपछि पाएका प्रतिक्रियाले अभिनेत्रीद्वय केकी अधिकारी तथा आँचल शर्मा उत्साहित देखिएका थिए। यो फिल्ममा उनीहरु देउरानी–जेठानीको भूमिकामा रहेका छन्।
सबैको प्रतिक्रिया सुनेपछि निर्देशक ज्ञानेन्द्र देउजाले एउटा पूर्ण मनोरञ्जनको प्याकेज बनाएको प्रतिक्रिया दिएका छन्। फिल्ममा हिउँवाला, केकी र आँचलसंगै मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारी आदि कलाकारले पनि मुख्य भूमिकामा निर्वाह गरेका छन्।